काठमाडौं: रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं डिएसपी एलिजा गिरीले पछिल्ला विभिन्न समयमा पक्राउ परेका केही व्यक्तिहरूसँग गरिएको सूक्ष्म अनुसन्धानबाट खुलेका आधार प्रमाणका अनुसार छानबिन गर्दै जाँदा बुधवार साँझ ६ बजेको समयमा जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोकमा थापिएको सुरक्षा चेकजाँचको क्रममा उक्त परिमाणमा नक्कली नेपाली रुपैयाँसहित यादवलाई पक्राउ गरिएको जानकारी गराएकी छन्।
डिएसपी गिरीले यादवबाट बरामद भएको रकम तथा अन्य विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएकी छन्।कानुनअनुसार मुद्रासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी गिरीको भनाइ छ।