Comments Add Comment

Advertisment

SKIP THIS

मानव बेचबिखन मुद्दामा फरार वीरबहादुरलाई ३२ वर्षपछि ब्युरोको टोलीले ललितपुरबाट पक्राउ

काठमाडौं: मानव बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्।

धादिङ मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई बुधबार ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको हो।

एक महिलालाई ब्रुनाइ पठाइदिन्छु भन्दै झुक्याएर २०४७ चैत ३ गते भारतको पश्चिम बंगाल पुर्‍याएको आरोप छ। काठमाडौंबाट लगेर काकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोरामा पुर्‍याएर बेचेको ब्युरोले जनाएको छ।

तामाङले भारतीय नागरिकसँग १० हजार भारतीय रुपैयाँ लिएर ती महिलालाई बेचेको अनुसन्धानबाट खुलेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

भारतीय नागरिकले रिक्सामा राखेर लग्दै गरेको बेलामा ती महिला हामफालेर भागेकी थिइन्। भागेर उनी भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। भारतीय प्रहरीले उनलाई काकडभिट्टासम्म पुर्‍याएपछि उनी घर फर्किएकी हुन्।

उनले स्वदेश फर्किनसाथ प्रहरीमा जाहेरी दिएपनि प्रतिवादी तामाङ पक्राउ पर्न सकेका थिएनन्। लामो समयको निगरानी र खोजतलास गर्दा बुधबार पक्राउ परेको एसपी पंगेनीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै