काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो।
माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव भेटिएको थियो । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ कि स्थानीय भएको उनका छोराले सनाखत गरिदिए ।
सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ४३ वर्षीय अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र बहादुर खत्रीले बताए ।

आरोपी कालिमाटीबाट पक्राउ परेका हुन् । गार्मेन्टमा कालिगढको काम गर्दै आएका ईकरामुल र सफिनाको बिचमा नरदेवीमा चिनजान भएको थियो । प्रेम सम्बन्ध भएपछि उनीहरु दुईजना स्वयम्भुमा बस्न थालेका हुन् ।
कार्तिक महिनाको पहिलो हप्ता मदिरा सेवन गरेर काठको आग्लोले हानेर घाइते बनाएपछि ईकरामुलले सफिनाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँमा विगत ९ वर्षदेखि काम गर्दै आएका ईकरामुल र सोफिनाको बिचमा मनमुटाव भएपछि ३ महिनादेखि बोलचाल बन्द थियो ।
आरोपीले शुरुमा घाइते बनाएपछि घाँटीमा सल बेरेर हत्या गरेको देखिन्छ ।’ हत्यापछि आरोपी सुमो चढेर वीरगञ्ज गए । वीरगञ्ज हुँदै भारत पुगेका उनी पुस १० तिर कालिमाटीमा आएर बि.एन फेशन गार्मेन्टमा काम गर्न थालेका थिए ।







