वीरगञ्ज- प्रहरीले बाराबाट आफ्नै ग्याङका साथीको हत्या गरी फरार रहेका एक भारतीय सुटरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको जिल्ला मोतिहारी दर्पा थाना ग्राम पञ्चायत तीनकोनी वडा नं.१ सुक्लहिया टोल बस्ने २२ वर्षीय रूपेशकुमार महतो रहेका छन्।
उनले गत असोज ९ गते आफ्नै ग्याङका साथीलाई भारतबाट अपहरण गरी नेपालमा ल्याइ हत्या गरेका थिए।
बारा पचरौता नगरपालिका-६ स्थित नेपाल-भारत सीमा लक्ष्मिनियामा रहेको पोखरी डिल नजिकै असोज ९ गते साँझ ६ बजे भारतको जिल्ला मोतिहारी दर्पा थाना–१ सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहलाई महतोले गोली प्रहार हत्या गरेका थिए।
सोही बेलादेखि फरार रहँदै आएका महतोलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका महतोलाई जिल्ला अदालत, कलैयामा उपस्थित गराइएको न्यौपानेले बताए।



