मोरङमा १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्टका सञ्चालक पक्राउ -
Comments Add Comment

मोरङमा १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्टका सञ्चालक पक्राउ

विराटनगर: मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ।

उर्लाबारीमा डेरामा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन्।

उनलाई अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारीमै कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ।

स्थानीयले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर किशोरीको उद्धार गरेको थियो। उद्धार गरेर उनलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको थियाे।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरी बलात्कृत भएको पत्ता लागेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारपछि केही थाहा नपाउने अवस्थामा पुगेकी उनी गाईगोठमा पुगेकी थिइन्। त्यसअघि प्रलोभनमा पार्दै एउटा होटलमा लगेर बलात्कार गरेको खुलेको छ।

घटनामा उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको दाहालले बताए। गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक रहेको प्रहरीको भनाइ छ। किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ।

किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको डीएसपी दाहालको भनाइ छ। उनका अनुसार बलात्कारपछि किशोरी केही थाहा नपाउने भएकी थिइन्। पीडितको शरीरको बाहिरी भागमा भने कुनै चोटपटक देखिएको छैन।

उपचार सुरु गरेपछि अवस्था सामान्य बन्दै गएको दाहालले बताए। उनका अनुसार अहिलेसम्म घटनामा एकजनाको मात्रै संलग्नता देखिएको छ। अनुसन्धानबाट अरुको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ। घटनासँग सम्बन्धित अरु विषय अनुसन्धानपछि यकिन हुने जानकारी दाहालले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै