काठमाडौं । यतिबेला झापा प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।

जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वायन गराउन जिल्ला प्रहरी कार्यालय, झापाले दुई दिनमा १८ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, भ्रष्टाचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।

आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएकोमा १८ जना अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक केसीले बताए ।

‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन वा कानुनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘हामी पुराना फाइल हेर्दैछौँ । दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउछौं ।’

प्रहरी उपरीक्षक केसीले झापा जिल्लाको कमाण्ड गरेको एक साता मात्र भएको छ ।