वीरगञ्ज – योग्यता र ईजाजत बिना अस्पताल खोलेर शैल्यक्रिया गर्ने दुई भारतीयसहित तीन जनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका–१४ खैरवा बस्ने ४५ बर्षीय हसिंन अख्तर,भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगञ्ज–३ वटोआ बस्ने २७ बर्षिय मोहम्द तबरेज आलम र रौतहट यमुनामाई गाउँपालिका–२ भेडियाही टोल बस्ने २७ वर्षीय कलाम मन्सुरी छन्।
तीनै जनाले यमुनामाई गाउँपालिका–१ सुकदेव चौकमा सगरमाथा तराई हस्पिटल प्रालि सञ्चालन गरी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेसलगायत शल्यक्रिया गर्दै आएको प्रहरीले जनाएको छ।
योग्यता र ईजाजत बिना अस्पताल सञ्चालन गरि उपचार गर्दै आएको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमनको क्रममा र्ईलाज गर्न पाउने ईजाजत पत्र मांग गर्दा निजहरुसंग ईलाज गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निम्ति सूचना अधिकारी झलक शर्माले जानकारी दिए।
तीनैजनाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको शर्माले बताए।