काठमाडौं: उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार मिलन विष्ट पुस महिनाका लागि ‘उत्कृष्ट’ घोषित भएका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक हवल्दार बिष्ट जिम्मेवारी बहनको आधारमा हरेक महिना छनोट हुने ‘पुलिस अफ द मन्थ’ अर्थात जिल्लामा महिनाको उत्कृष्ट प्रहरी ठहरिएका हुन् ।

विभागीय मुल्यमान्यता, आदेश, निर्देशनको पालना गर्दै महत्वपूणर् व्यवसायिक जिम्मेवारी निर्वाह गरेको भन्दै विष्टलाई उत्कृष्ट घोषित गरिएको जिप्रका उदयपुरले जनाएको छ । उनले बिभिन्न मुद्धाका फरार व्यक्तिहरु पक्राउ गर्न महत्वपूणर् भूमिका निर्वाह गरेको बताइएको छ ।

जिप्रका उदयपुरका प्रमुख प्रहरी निरीक्षक रमेश थापाका अनुसार हवल्दार बिष्टले २०८० पुस महिना अवधिमा बिभिन्न मुद्धामा जिल्ला अदालत उदयपुरबाट कैद र जरिवाना सजाय तोकिएका फरारहरु नियन्त्रण गर्न महत्वपूण भूमिका निर्वाह गरेका थिए । विभिन्न मुद्धामा फरार ६ वर्ष १ महिना १२ दिन कैद र पच्चीस लाख तीन हजार आठ सय १६ रुपैयाँ जरिवाना भएका २१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल मिलन ‘उत्कृष्ट’ प्रहरी बन्न योग्य रहेको कार्यालयको दाबी छ ।

उनले पुस १२ गते जिल्लाको बेलका नगरपालिका वडा नम्बर ८ सेती खोलाबाट सुनसरी वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ का ३६ वर्षीय शंकर माझी, जिल्लाको बेलका नपा ८ का ४० वर्षीय मुगलाल राई र २० वर्षका सुवास राईलाई प्रतिवन्धित लागुऔषध १२ केजी ३४० ग्राम गाँजासहित पक्राउ परेको घटनामा समेत मिलनले विशेष सूत्रको जिम्मेवारी निभाएका थिए ।

त्यस्तै पुस २७ गते उदयपुरकै कटारी नगरपालिका ७ देउलीकुनाबाट कटारी नपा २ का ३० वर्षीय लोकवहादुर राई र ३१ वर्षका अर्जुन भनिने टेकबहादुर पाँचेमगरलाई ६६.५८ केजी गाँजासहित पक्राउ गर्न सफल भएका थिए । पुस २१ गते बेलका ८ आराङगास्थित सडकमा बेबारिसे अवस्थामा रहेको मे १ च २७९९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थलमा पनि ६ केजी गाँजा फेला परेको थियो । सोही गाँजा ओसारपसार गर्ने घटनामा संलग्नहरुको पहिचान गर्ने क्रममा बेलका ३ का २१ वर्षीय पदमबहादुर तामाड र बेलका १ का २८ वर्षीय बमबहादुर राईलाई नियन्त्रमा लिदा उनै मिलन सहभागी थिए । पुरस्कृत हुने मिलन जिल्लामा अपराध, खोजी र अनुसन्धानको क्षेत्रमा अब्बल तल्लो दर्जाका प्रहरीको रुपमा चिनिन्छन् ।