काठमाडौँ । अर्काको नागरिकता र सर्टिफिकेट दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ घर भएका २३ वर्षीय सिद्धार्थ चौधरी, बाराको महागढीमाई नगरपालिका–५ घर भएकी २५ वर्षीया सोनम कुमारी चौधरी र वीरगन्ज महानगरपालिका – १५ घर भएका २६ वर्षीय राहुल रै दास छन् ।

सामाजिक संजालमा ‘वैदेशिक रोजगारीको अवसर’ भन्ने सूचना राखेर आरोपीहरुले विदेश पठाउने नाममा रकम हाल्न लगाउने र सम्पर्कविहीन हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

वैदेशिक रोजगारीमा जान इच्छुकहरुकै कागजात दुरुपयोग गरेर उनीहरुले बैंक खाता खोल्ने र रकम डिपोजिट गर्न लगाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

पक्राउ परेकाहरुले अहिलेसम्म अर्काको नागरिकता दुरुपयोग गरेर खोलेको बैंक खाता मार्फत ८२ लाखभन्दा बढी कारोबार गरेको भेटिएको छ ।