काठमाडौं: नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकाल्ने महिलाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता भएको छ ।
विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटवाल रेग्मीविरुद्ध पीडित विद्यार्थीले जाहेरी दिएको विराटनगरस्थित नर्सिङ क्याम्पसकी मेनुका भण्डारीले बताइन् ।
उनले हिजो विद्यार्थीले अग्रिम पैसा नदिएको भन्दै नर्सिङ छात्रालाई कुटपिट गर्दै निकालेकी थिइन् ।
होस्टलकी सञ्चालक मधुले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओमार्फत् सार्वजनिक भएको छ ।
जाहेरी परेपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान थालेको छ । कारबाही प्रक्रिया अगाडि बढाएको छ । आफूविरुद्ध उजुरी परेपछि होस्टेल सञ्चालक मधु फरार भएकी छिन् ।
नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालियो, किताब-कपडा पनि यसरी फालिन् सञ्चालकले (भिडिओ)
भिडिओ भाइरल भएलगतै उनले मोबाइल अफ गरेकी थिइन्, फेसबुक डिएक्टिभ गरेकी छिन् । कतिपयले भने उनी काठमाडौं भागेको बताएका छन् ।
होस्टल सञ्चालक रेग्मी आफू काठमाडौं जानुपर्ने जनाउँदै अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् ।
तर, नर्सिङकी विद्यार्थीले केही दिनपछि होस्टल छाड्दै थिइन् । तर कहिले छाड्ने भन्ने टुङ्गो थिएन । तर, होस्टल सञ्चालक रेग्मीले महिना दिनको पुरै भाडा माग्दै विद्यार्थीलाई लछारपछारी थिइन् । घटनापछि त्रासमा रहेका विद्यार्थी बिरामी भएका थिए ।