१९ चैत , काठमाडौ । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
आइतबार जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका– ३ हरकठवा परीक्षा केन्द्रबाट भिनाजुको नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतोलाई प्रहरीले सूचनाका आधारमा पक्राउ गरेको हो ।
कृष्ण आइतबार भिनाजु राकेशकुमार महतो (सिम्बोल नं ०२२१००४५) को अनिवार्य गणित विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए । कृष्णलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेको पुष्टि गरेपछि पक्राउ गरेको हो ।
राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब उनले अन्य विषयको परीक्षा समेत दिन नपाउने भएका छन् ।
नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले बताए ।





