
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२० स्थित भलामखोरबाट प्रहरीले दुई नाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भलामखोर बस्ने ४२ वर्षीय दिपेन्द्र केसी छन् ।
अवैध शिकार गर्ने गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए । उनको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले मृगको छाला, खुट्टा र पुच्छर सहितको आलो मासु बरामद गरेको छ ।
भरुवा बन्दुकको खाली टोटा १३ थान र भरी खोका १ थान तथा २० ग्राम बारुद बरामद गरिएको एसपी थापाले जानकारी दिए । आरोपीलाई कानूनी कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाउने प्रहरीको तयारी छ ।