काठमाडौं: रामेछाप जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रदीप कुमार सिंहले जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।
जिल्लामा हालैमात्रै सरुवा भइ आएका डिएसपी सिंहले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै भने, ‘शान्तिसुरक्षा कायम गर्ने हो, त्यसमा कुनै सम्झौता र ढिलासुस्ती हुँदैन ।’
डिएसपी सिंहले जिल्लाभित्र अपराधिक गतिविधि हुन नदिन प्रहरी प्रतिबद्ध रहेको बताएका छन् । उनले आफू रामेछापवासीको सेवा गर्न आएको बताउदै मन बचन र कर्मको साथ काम गर्ने बताएका हुन् ।
उनले नागरिकको गुनासो नआउने गरि काम गर्ने र गुनासो आए तत्काल सुधार गरिने पनि बताए । उनले प्रहरी कार्यालयमा बिचौलियाको प्रवेशलाई कडाइ गरिने प्रतिबद्धता समेत गरे ।
जिल्लाको आठ वटै स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गर्ने बताउदै उनले जिल्लाभित्र बढदै गएको आत्महत्याको घटना रोकथाम गर्नको लागि समुदायसँग मिलेर काम गर्ने बताए । उनले हाल जिल्ला सदरमुकामसहित सीमा नाकाहरुमा जडान गरिएको सीसी क्यामेरा पर्याप्त नभएको बताउदै स्थानीय तह, उद्योग वाणिज्य संघ लगायतका निकायहरुसँग समन्वय गरेर सीसी क्यामेराको संख्या बढाउने विषयमा आफूले ध्यान दिएको बताए ।