काठमाडौँ । करिब २० वर्षअघि एक व्यक्तिको हत्या गरी फरार भएका शङ्कर आलेलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ४७ वर्षीय आलेलाई नवलपरासीको देवचुली नगरपालिकाबाट आइतबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार तत्कालीन नेपाल सेनाको श्री नम्बर ७ बाहिनी अड्डा मकवानपुरमा कार्यरत रहेका आले समेतका व्यक्तिहरूले व्यक्तिगत रिसिइबीका कारण मकवानपुरको साबिक मार्खु गाविस–४ बस्ने पूर्णबहादुर विष्टलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । विष्टको शव २०६१ साल कार्तिक ३० गते मार्खु र चित्लाङको दोसाँधमा फेला परेको थियो ।

२०७२ साल वैशाख २३ गते मकवानपुर जिल्ला अदालतले ओलेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुने ठहर गरेको थियो । हालसम्म फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको उपरीक्षक बोगटीले जानकारी दिए ।