Comments Add Comment

Advertisment

SKIP THIS

यूएईमा ९० नेपाली अलपत्र, पीडितले भने– १ महिनादेखि बन्धक छौँ

४ श्रावन, काठमाडौ । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका ९० जना नेपाली एक महिनादेखि समस्यामा परेका छन् ।

बानेश्वरमा रहेको ओशो रिक्युटिङ एजेन्सी प्रालि र सामाखुसीमा रहेको मास ह्युमन रिर्सोस प्रालि लगायतका मेनपावरमार्फत यूएई पुगेका ९० जना नेपालीहरू समस्यामा परेका हुन् । पीडितहरूले आफूहरूलाई एक महिना ६ दिनदेखि बन्धकु बनाएर राखेको बताएका छन् ।

उनीहरूलाई यूएईको टोर्नाडो ग्रुपमा गार्डेन वर्करको रूपमा काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, सम्झौता अनुसार काम नदिएर अर्को काममा लगाएपछि आफूहरू काममा नगएको पीडितहरूले बताएका छन् । सम्पर्कमा आएका पीडितहरूले काममा नगएपछि दुबईको स्थानीय एजेन्टले क्याम्पमा बन्धक बनाएर राखेको बताए ।

धनुषाका एक पीडितले एक महिना ६ दिनदेखि बाहिरबाट चुकुल लगाएर भेडाब्राखालाई थुनेझैँ राखिएको बताए । आफूहरू दुबईको हाइल्यान्ड भन्ने ठाउँमा थुनेर राखेको ती पीडितको भनाइ छ ।

‘खान केही दिएको छैन । सबैलाई एउटै कोठाभित्र राखेको छ । गर्मीले गुम्सिएर मर्नु भएको छ । पिउने पानी समेत दिएको छैन,’ ती पीडितले भने ।

त्यसरी बन्धक तथा अलपत्र पर्नेहरू धनुषा, महोत्तरी लगायतका जिल्लाका छन् । दुबई पुगेपछि श्रम सम्झौता अनुसारको काममा नलगाई दिनहुँ क्याम्प र ठाउँ परिवर्तन गराउँदै राख्ने, खान बस्न तथा काम गर्ने वातावरण समेत नपाउँदा आफूहरू ठगिएको र अलपत्र परेको महोत्तरीका अर्का पीडितले बताए ।

म्यानपावर तथा एजेन्टलाई सम्पर्क गर्दा उल्टै धाक धम्की दिँदै जे मन लाग्छ गर, जहाँ मन लाग्छ, जा भन्दै धम्की दिँदै आएको ती पीडितको भनाइ छ ।

उनीहरू उद्धार गरेर स्वदेश फिर्ता गराइदिन अनुरोध गरेका छन् । बन्धकमा परेकाहरू ओशो मेनपावरबाट दुई समूह गरेर यूएई गएका थिए । गार्डेनको काम भनेर झुक्क्याई साउदी अरेबियाको सीमा नजिकै रहेको घनघोर जङ्गलमा लगेर जङ्गलको रेखदेख र खजुर टिप्ने काम दिएको पीडितहरूको भनाइ छ ।

पीडितहरूले तत्काल उद्धार गरिदिन अनुरोध गरेका छन् । नेपालबाट आउने बित्तिकै सहरभन्दा करिब चार घण्टा टाढा रहेको ठुलो जङ्गलमा छोडिएको उनीहरूको भनाइ छ । यहाँ किन ल्याएको भनेर प्रश्न गर्दा तिमीहरूको काम जङ्गल हेर्ने काम हो भन्दै छोडिएको बताए ।

उक्त जङ्गलमा ठूल्ठूला सर्प तथा बिच्छीहरू रहेको बताउँदै त्यसका लागि आफूहरू बिरामी परेको खण्डमा उपचार गर्ने ठाउँ समेत नरहेको बताए । ज्यानै जानेगरी काम नगर्ने बताउँदै आफूहरू क्याम्पमा फर्किएको उनीहरूको भनाइ छ । त्यस्तो ठाउँमा काम नगर्ने भन्दै फर्किएपछि आफूहरूलाई क्याम्पमा नै थुनेर राखेको उनीहरुले बताए ।

भोक मार्न नसकेर अरूसँग खानेकुरा माग्दै खाना खाइरहेको पीडितले बताए। गार्डेनमा फूल रोप्नुका साथै फूलबिरुवा कटिङ गर्ने भनी श्रम सम्झौता नै गरेर करिब दुई लाख रुपैयाँ लिएर उनीहरू दुबई पठाएको थियो । मासिक तलब एक हजार २०० दिराम (नेपाली ४३ हजार भन्दा बढी) हुने भनि सम्झौता गरिएको पीडितहरूको भनाइ छ ।

केही पीडितसँग ओशोको एजेन्ट भनिएका महोत्तरीका फूलबाबु यादवले एक लाख ७५ हजारदेखि तीन लाख रुपैयाँसम्म लिएको बताए । गार्डेन काम गरेबापत १२ सय दिराम दिने भनी सम्झौता गरेपनि दुबई पुगेपछि तलब ६०० र खानबस्नका लागि २०० दिराम दिने भन्दै जबरजस्ती सम्झौता गर्न लगाएको पीडितहरूको भनाइ छ । पीडितहरूको तर्फबाट महोत्तरी जिल्ला प्रशासन कार्यालयमा ‘उद्धार गरी पाऊँ’ भन्दै निवेदन समेत दिएका छन् ।

ओशोका सञ्चालक लक्ष्मण विश्वले ल्याण्डस्केपिङ वर्करको रूपमा पठाएको बताए । ल्याण्डस्केपिङ वर्कर भनेपछि त्यही काम गर्नुपर्ने बताउँदै बाहिर हल्ला आएजस्तो कसैले पनि बन्धक नबनाएको दाबी गरे ।

आफूहरूले कम्पनीसँग सम्पर्क गरिरहेको र अप्ठ्यारोमा परेकाहरूलाई सजिलो काममा पठाउनेगरी कुरा भइरहेको बताए । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले दूतावासमा मार्फत अनुगमनको काम भइरहेको बताए । अहिले यूएईस्थित नेपाली दूतावासका कर्मचारी अनुगमनको लागि पीडितहरू भएको ठाउँमा गइरहेको उनले बताए ।

उनीहरूले अनुगमन गरेर साच्चिकै बन्धक बनाइएको हो वा के हो त्यसको अनुगमन गर्ने विभागले जनाएको छ । अनुगमनपछि बन्धक बनाइएको हो भने उद्धार गरेर नेपाल फर्काउने र समस्यामा मात्रै हो भने समस्याको समाधान गर्ने तयारी दूतावासको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै