काठमाडौँ । गृहमन्त्रालयले काठमाडौँ लगायत केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । मङ्गलवार राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा
काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ भने त्यहाँका प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको छ । अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।
मन्त्रालयका सहसचिव लीला प्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा ल्याइएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी वेदनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
यसैगरी गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव टोक राज पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ, उनलाई महाशाखा तोक्न बाँकी छ ।
को हुन् आचार्य
जयनारायण आचार्य २०५९ फागुनमा निजामती सेवामा प्रवेश गरेका एक अनुभवी प्रशासक हुन् । उनको पहिलो पोस्टिङ सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा रामेछापमा भएको थियो । डेढ वर्षको रामेछाप बसाई पछि अछाम र विनायकमा सेवा गरेपछि उनी २०६६ सालमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका थिए ।
२०६८ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव बनेपछि आचार्यले आफ्नो कार्यकुशलता अझै फराकिलो बनाए । त्यसै समयमा उनी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया गए, जहाँ सउल नेशनल युनिभर्सिटीबाट गोल्ड मेडल हासिल गरे । अध्ययनपछि नेपाल फर्केर उनी पुनः प्रधानमन्त्री कार्यालयमै उपसचिवको रूपमा खटिए ।
२०७१ सालमा सहसचिव बनेका आचार्यले पहिलो पोस्टिङ राष्ट्रिय योजना आयोगमा पाए । त्यसपछि उनी पर्यटन विभागका महानिर्देशक, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा काम गर्दै प्रशासनिक जिम्मेवारी सम्हाल्दै अघि बढे ।
२०७६ सालमा गृह मन्त्रालयमा प्रवेश गरेका आचार्यले दाङ जिल्लाबाट प्रमुख जिल्ला अधिकारीको रूपमा आफ्नो यात्रा थालेका थिए । दाङपछि सप्तरी, कास्की र ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा सफलतापूर्वक सेवा गरे ।
नागरिक र राज्य बीचको दुरी घटाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रशासनिक कार्यालयहरूको पारदर्शितालाई बढावा दिने काममा विशेष जोड दिने आचार्य नागरिकको सहज पहुँच सुनिश्चित गर्न आफ्नो कार्यकक्षको ढोका सधैँ खुला राख्ने परम्परा बसाल्ने प्रशासकका रुपमासमेत चिनिन्छन् ।
जुम्ला जन्मस्थान रहेका आचार्य २०७९ मा ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । जतिबेला कणालीकै सहसचिवत्रयहरुले सम्हालेका थिए उपत्यका प्रशासनको कमाण्ड ।