मकवानपुर प्रहरीले अवैध हतियार पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ बाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धीरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमार रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट एक राउन्ड गोली लोड भएको नाै एमएमको अटोमेटिक पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप दुई थान गोली बरामद गरेको उनले जानकारी दिए ।

प्रहरी प्रमुख खड्काका अनुसार गौरबाट हेटौँडातर्फ आउँदै गरेको ना.८ख ८७७३ नम्बरको बसलाई रोकी जाँच गर्ने क्रममा अवैध हतियारसहित उनीहरूलाई पक्राउ गरिएको हो । ‘विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीको टोलीले बस रोकी जाँच गर्नै क्रममा पेस्तोलसहित दुईजना भारतीयलाई पक्राउ गरेका हौँ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रारम्भिक अनुसन्धानबाट हेटौँडामा कसैलाई दिने गरी ल्याएको भन्ने बुझिाएको छ ।’ यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।