प्युठान । प्युठानमा दम्पती हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार छन् ।

उनले रातापानीकै ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । हत्या आरोपमा पक्राउ परेका पंकज मृतक दम्पतीका दाइको छोरा रहेको प्युठान जिल्ला प्रहरी प्रमुख दिपेश बस्यालले बताए ।

रातापानीमा परियार दम्पती मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको आएको थियो । त्यसपछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो ।

अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको देखिएको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले घरबाट करिब ५० मिटर टाढा रगत लतपतिएको घन समेत फेला पारेको थियो ।

अपरेशन माण्डवी नाम दिएर अनुसन्धान गरेको प्रहरीले अन्तत २४ घण्टा नबित्दै हत्या आरोपमा पंकजलाई पक्राउ गरेको छ । प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले टाउको घन बजारेर वीभत्स हत्या गरेको अवस्था शव भेटिएको बताए ।

रिसइबी साधेर उनले हत्या गरेको खुलेको छ । पंकजकी श्रीमतीले छाडेर गएपछि रामबहादुर र हुकुमाले पंकजलाई थारो भनेर जिस्काएको बुझिएको छ ।

त्यहीँ रिसमा हत्या गरेको प्रहरीसमक्ष उनले स्वीकार गरेका छन् । प्रहरीले पंकजको घरबाट हत्या गर्दा लगाएको रगत लतपतिएको कपडा समेत बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।