Comments Add Comment

Advertisment

SKIP THIS

बसुन्धारामा ३० वर्षदेखि अतिक्रमणमा परेको १० रोपनी सार्वजनिक जमिन खाली, खेलमैदान निर्माणको योजना

टोखा, काठमाडौं – टोखा नगरपालिका वडा नम्बर ५ बसुन्माधारा नजिक ३० वर्षदेखि अतिक्रमणमा रहेको करिब १० रोपनी सार्वजनिक जमिन आज बिहान नगरपालिकाले डोजर प्रयोग गरेर खाली गराएको छ।

नगरपालिकाले पटक–पटक चेतावनी दिए पनि अटेर गर्दै बसोबास गरिरहेका केही व्यक्तिले उल्टै नगरपालिकामाथि अदालतमा मुद्दा दायर गरेका थिए। तर, अदालतले स्पष्ट रूपमा नगरपालिकाको पक्षमा फैसला गरेपछि पनि उनीहरू हट्न तयार नभएपछि, आज बिहान डोजर परिचालन गर्दै जबरजस्ती हटाउने निर्णय कार्यान्वयन गरिएको हो।

टोखा नगरप्रमुख प्रकाश अधिकारीले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै यस्ता अतिक्रमणविरुद्धको अभियानलाई अब झन सशक्त रूपमा अघि बढाइने चेतावनी दिए।

“सार्वजनिक जग्गा कुनै व्यक्तिको निजी सम्पत्ति होइन। यसको संरक्षण हाम्रो साझा कर्तव्य हो,” मेयर अधिकारीको भनाइ थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिले सम्बन्धित अतिक्रमणकारीहरूलाई पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी दिइएको भए पनि उनीहरूले अटेरी गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको बताए।

आज गरिएको हटाउने कार्यमा मेयर प्रकाश अधिकारी, उपमेयर, वडाअध्यक्ष, नगर प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, समाजसेवी र राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

स्थानीयको स्वागत
लामो समयदेखि सार्वजनिक जमिन अतिक्रमणमुक्त गराउन दबाब दिँदै आएका स्थानीयवासीहरू नगरपालिकाको यस निर्णयबाट अत्यन्त खुशी देखिएका छन्।

हामी वर्षौंदेखि खेल्न न त ठाउँ पाउँथ्यौं, न त घुम्न। अब यहाँ खेलमैदान बन्नेछ भन्ने खबरले खुसी लागेको छ,” वडा नम्बर ५ का एक किशोरले भने।

नगरपालिकाले खाली गरिएको उक्त जमिनमा स्थानीयका लागि आधुनिक खेलकुद मैदान बनाउने योजना सार्वजनिक गरेको छ। जसमा फुटबल, भलिबल, बास्केटबल र दौडने ट्र्याकसमेत रहने जनाइएको छ।

यो अभियानले नगरको विकास, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक न्यायको प्रवर्धनमा सशक्त सन्देश दिएको छ।

नगरपालिकाले अन्य वडामा रहेका यस्तै अतिक्रमणको पहिचान गरी क्रमिक रूपमा हटाउने कार्य अघि बढाइने स्पष्ट पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै