Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा लगेर मिर्गौला चोरी गर्ने ४ जना पक्राउ : संगठित अपराधमा अनुसन्धान हुदै, एसएसपी पंगेनी

भारतमा लगेर मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा चारजनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौं र काभ्रेबाट पक्राउ गरेको छ ।

सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौं र काभ्रेबाट पक्राउ गरेको ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए।

ब्युरोले मिर्गौला निकालेको आरोप लागेका चारजनामध्ये तीन जनालाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम अदातलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानसमेत सुरु गरेको एसएसपी पंगेनीले बताए ।

एसएसपी पंगेनीका अनुसार यो कार्यमा संगठित गिरोह नै लागेकाले सोहीअनुसार कार्यालयबाट अनुसन्धान भएको बताए । ‘भारतमा स्वास्थ्य परीक्षण लगायतका विभिन्न कार्यका लागि एक महिना राखिएको र मिर्गौला झिकेपछि नेपाल फिर्ता पठाएको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने,‘भारतको होटलमा काम गर्दा मासिक भारु १० देखि २० हजारसम्म कमाई हुन्छ भन्ने प्रलोभन देखाई पीडित भुजेललाई कोटेश्वरबाट कलंकी हुँदै सुनौली सीमा पार गराई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्‍याएको रहेछ । त्यसको भोलिपल्ट एक क्लिनिकमा लगी मेडिकल चेकअप गराई मिर्गौला झिकिएको छ ।’

प्रहरीले संगठित रुपमा कानुनविपरीत मानव अंग मिर्गौला झिकी बिक्री गर्ने मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ का २४ वर्षीय समिर नेपाली र ४७ वर्षका राकेश नेपालीलाई प्रतिवादीका रुपमा पक्राउ गरेको एसएसपीले बताए ।

उनले संगठित समूहका अन्य फरार प्रतिवादीहरुको खोजी जारी रहेको र विभिन्न जिल्लाबाट अन्य दर्जनौं मानिसहरुको मिर्गौलाको अवैध रुपमा बिक्री गरेको भन्ने सूचनाको आधारमा अन्य पीडितहरुको पहिचान गर्ने कार्यसमेत अघि बढाएको बताएका छन् ।

३७ वर्षीय भुजेललाई रोजगारीको प्रलोभन देखाई भारत लगेर मिर्गौला चोरी गरेको आरोपमा ब्युरोले अनुसन्धान गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट गिरोहले प्रत्येक व्यक्तिलाई ५ देखि ७ लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्याउने गरेका थिए।

आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई नै लक्षित गरी यो धन्दा चलाएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै