तारकेश्वर नगरपालिका–६ मा गए राति मध्यरात करिब १२:३० बजे गएको ठूलो पहिरोले तीन घरमा क्षति पु–याएको छ।



मध्यरातमै आएको उक्त पहिरोपछि प्रभावित घरका बासिन्दालाई तत्कालै सुरक्षित स्थानमा सारिएको नगरपालिकाले जनाएको छ।
घटनास्थलमा तत्कालै पुगेर उद्धार तथा राहत कार्यमा संलग्न भएका वडा अध्यक्ष घनश्याम श्रेष्ठ, स्थानीय समाजसेवी राजकुमार महर्जनसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी (APF), नगर प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रुपमा पहिरो पन्छाउने र प्रभावितलाई सहयोग गर्ने कार्य गरिरहेका छन्।
हालसम्म कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ। तर, पहिरोले घरभित्र रहेका सामानमा ठूलो मात्रामा क्षति पु–याएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासीका अनुसार पहिरोका कारण प्रभावित परिवार अहिले मानसिक तनावमा रहेका छन्।
सामान्य वर्षासँगै पहिरो जोखिम बढ्दै गएको भन्दै स्थानीयले तत्काल स्थायी समाधान खोज्न सरकारसँग माग गरेका छन्। सम्बन्धित निकायले विस्तृत क्षतिको मूल्यांकन गर्न सर्वेक्षण टोली पठाउने तयारी गरेको जनाएको छ।




