काठमाडौं महानगरपालिका–१६ का स्थायी स्थानीय बासिन्दाहरूले समुदाय–प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ नेपाल प्रहरी बालाजु प्रहरी वृत्तलाई सहयोगस्वरूप रु. ५,०५,००० हस्तान्तरण गरेका छन्।

उक्त रकम आज एक विशेष कार्यक्रममा बालाजु प्रहरी वृत्तका डिएसपी ज्ञान बहादुर बिष्टलाई चेकमार्फत औपचारिक रूपमा प्रदान गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रोजिना श्रेष्ठसँगै स्थानीय बासिन्दा, समाजसेवी, अभियन्ता देवेन्द्र कुमार श्रेष्ठ, पत्रकारहरू र कुमारीस्थान टोल विकास समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको औपचारिकता र महत्त्व बढाएको थियो।
स्थानीयहरूले जनाएका अनुसार, यो सहयोग जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि संकलन गरिएको हो। सो रकम प्रहरी वृत्तको भवन मर्मत, सुरक्षा प्रणाली सुदृढ र जनसेवामा सुधारका लागि प्रयोग हुनेछ।
अहिले बालाजु प्रहरी वृत्त तारकेश्वर नगरपालिका–६ धर्मस्थलीबाट सञ्चालन हुँदै जनतालाई निरन्तर सुरक्षा सेवा दिइरहेको छ। स्थानीय बासिन्दा र टोल विकास समितिका पदाधिकारीहरूले हातेमालो गर्दै वडा–१६ का सम्पूर्ण जनतालाई समेटेर सहयोग अभियान सञ्चालन गरेको उल्लेखनीय छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रोजिना श्रेष्ठले समुदायको सक्रिय सहभागिताले स्थानीय सुरक्षा प्रणालीमा बलियो प्रभाव पार्ने र प्रहरी–समुदाय सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए।
त्यस्तै, डिएसपी ज्ञान बहादुर बिष्टले स्थानीय सहयोगले प्रहरीलाई उत्साह, जिम्मेवारी र समर्पणका साथ जनसेवा गर्न थप प्रेरणा दिएको उल्लेख गर्दै सबैलाई धन्यवाद व्यक्त गरे।
स्थानीय टोल विकास समितिका पदाधिकारीहरू र बासिन्दाहरूले भर्खर मात्र नभई, अघिल्ला समयमा पनि प्रहरीलाई निरन्तर सहयोग गर्दै आएका छन्। यसै क्रममा, उनीहरूले आगामी दिनमा पनि समुदाय–प्रहरी सहकार्य र सुरक्षा अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
यो सहयोग कार्यक्रमले न केवल प्रहरीको सेवा क्षमता बलियो बनाएको छ, तर स्थानीय समुदायमा सहयोग, जिम्मेवारी र सहकार्यको भावना प्रवर्धन गरेको छ।









