त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट मैदान क्षेत्रमा दर्शक तथा विद्यार्थीमाथि लिइँदै आएको पार्किङ शुल्क आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
एनपीएल सुरु भए देखि कीर्तिपुर विकास समाजको नाममा असुलिँदै आएको शुल्क हटाउन जेनजि अगुवा मदन बहादुर शाहीले गरेको सक्रिय पहल, निरन्तर आवाज र दवाब निर्णायक सिद्ध भएको हो।
शाहीले मनपरी रूपमा भइरहेको शुल्क असुलीले विद्यार्थी तथा सर्वसाधारणमाथि अनावश्यक आर्थिक बोझ परेको भन्दै विरोध जनाएका थिए। उनले सम्बन्धित निकायसँग समन्वय गर्दै शुल्क तत्काल रोक्न माग गरेका थिए।
उनको पहललाई सम्बोधन गर्दै जिम्मेवार निकायहरूले आजदेखि पार्किङ शुल्क संकलन पूर्ण रूपमा रोकिएको औपचारिक घोषणा गरेका छन्। यससँगै क्रिकेट हेर्न आउने दर्शक, विद्यार्थी तथा स्थानीयवासीले निःशुल्क रूपमा पार्किङ सुविधा उपयोग गर्न सक्ने भएका छन्।
पार्किङ शुल्क हटेपछि शाहीले प्रतिक्रिया दिँदै भने, “विद्यार्थीको हितविपरीत हुने कुनै पनि गतिविधि सह्य हुँदैन। क्याम्पस क्षेत्रमा रहेका अन्य समस्याहरू समाधानका लागि पनि निरन्तर पहल जारी राखिनेछ।”
पार्किङ शुल्क हटाइएपछि स्थानीय र विद्यार्थी समुदायले राहत अनुभव गरेका छन्। यस कदमलाई क्याम्पस क्षेत्रमा हुने मनपरी शुल्क असुलीविरुद्धको सकारात्मक र अनुकरणीय कदमका रूपमा हेरिएको छ।


