६ पुष काठमाडौ । सिन्धुलीको दुधौली नगरपालिकामा केही समययता जंगली हात्तीको आतंक सुरु भएको छ । दुधौली नगरपालिका-११ माथिल्लो पत्रिंगामा गत बिहीबारबाट पसेको जंगली हात्तीले हालसम्म २८ वटा घरमा क्षति गरेको छ ।
हात्तीले घर भत्काउनुका साथै घरमा राखिएको अन्न धान, मकैलगायत खाने गरेको स्थानीयले बताएका छन् । कोसी टाप्पु वन्यजन्तु आरक्षबाट समूहमा आएको तीनवटा हात्तीले बिहीबारदेखि बस्तीमा पसेर घरहरू क्षति गरेको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख थिरबहादुर कार्कीले बताए ।
“गत बिहीबारदेखि हात्तीले माथिल्लो पत्रिंगाका घरहरू भत्काउन थालेको हो । हात्तीले घर भत्काउने तथा भण्डारण गरी राखेको अन्नबाली सबै नष्ट गर्ने गरिरहेको छ । अहिलेसम्म मानवीय क्षति भने भएको छैन”, कार्कीले भने ।
उनका अनुसार कोसी टाप्पु वन्यजन्तु आरक्षबाट अझै ६ वटा हात्ती आउँदै छ । वन अतिक्रमण गरेर बनाएका घरहरूमा हात्तीले क्षति गरेको उनको भनाइ छ । “वन नजिकका घरमा हात्तीले क्षति गरेको छ । बस्तीमै गएर क्षति गरेको होइन । जुन वन नजिकका घर छन्, वन अतिक्रमण गरेर निर्माण गरेका घरमा हात्तीले क्षति गरेको हो”।
उनले भने, “अझै पनि हात्तीले क्षति गर्ने क्रम बढी छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट ६ वटा हात्ती आउँदै गरेको हामीले जानकारी पाएका छौँ । एक महिनासम्म हात्ती त्यही क्षेत्रमा बस्छ ।”
मानिसले हात्तीको रुटमा अवरोध गरेका कारण हात्तीले क्षति गरेको उनको भनाइ छ । हात्तीलाई तर्साउने तथा भगाउन नमिल्ने भएकाले बस्तीका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिसकेको कार्कीले बताए ।
हात्तीलाई जिस्काउने तथा तर्साउने गरेमा मानवीय क्षतिसमेत हुने भएकाले हात्तीलाई जिस्काउने, नजिक गई भिडियो तथा फोटो खिच्नेलगायतका कार्य नगर्न उनले आग्रह गरे । हात्तीले क्षति गरेको क्षतिपूर्ति डिभिजन वन कार्यालयले दिने उनको भनाइ छ ।
हात्तीको आक्रमणबाट क्षति भएको घरपरिवारलाई घटनास्थलमै पुगी दुधौली नगरपालिका, विभिन्न राजनीतिक दल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले खाद्य सामग्रीको प्याकेज वितरण गरेका छन् ।







