
२ माघ , काठमाडौ । अहिले कोरोनाको ओम्रिकोन भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । यसरी तीव्र रूपमा फैलिएसँगै यो कहिलेसम्म रहन्छ भन्ने चिन्ता पनि थपिएको छ ।
गत साता युरोप र अमेरिकाको सवालमा दुई डरलाग्दा प्रक्षेपण गरिए ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले युरोपमा अबको ६ देखि ८ सातामा ५० प्रतिशत सङ्क्रमित हुने चेतावनी दिएको थियो भने अमेरिकामा सम्पूर्ण व्यक्ति सङ्क्रमित हुने जोखिम बढेसँगै कोरोना नियन्त्रणभन्दा स्वास्थ्य संयन्त्रमा सुधार गर्न पहल गर्नुपर्नेमा सरुवा रोग विशेषज्ञहरूले जोड दिएका थिए ।
भारतमा पनि सङ्क्रमण दर तीव्र भए पछि यसका बारे अनेकन् अनुमान हुन थालेका छन् । धेरै विज्ञहरूले मार्चपछि कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने अनुमान गरेका छन् ।
भारतमा सार्स टु इभ्यालुएसनको प्राविधिक सल्लाहकार समितिमा रहेर काम गरिरहेका अनुराग अग्रवालले डेल्टा भन्दा बढी सङ्क्रामक भएकाले यो डेल्टाभन्दा चाँडो नै ओरालो लाग्न सुरु हुने बताएका छन् ।
अहिले कम इम्युन भएका मानिसहरूलाई यसले नराम्रोसँग झस्काइरहेको छ । गत मे र अप्रिलमा जस्तो भयावह अवस्था देखिने सम्भावना कम मानिएको छ । परन्तु, यसले अबको दुई महिना भारतीयलाई दुस्ख दिने कुरामा त्यहाँका स्वास्थ्य अधिकारीहरू सहमत भइसकेका छन् ।
भारतमा सबैको जिन स्क्यानिङ गरिएको छैन । गरिएकामध्ये दुई दिनअघिसम्म ५ हजार ५ सय ८० जनामा ओम्रिकोन भेरियन्ट देखिएको थियो । भारतकै सरुवा रोग विशेषज्ञ गिरिधारी बाबु अहिले नै सबै कुराको अनुमान गर्न हतार हुने बताउँछन् ।
उनले जनवरी ८ देखि ११ को बीचमा सङ्क्रमण घट्दो क्रममा देखिएको मुम्बई मा १२ तारिख देखि फेरि बढेपछि सबै अनुमान गर्न अहिले हतार हुने प्रतिक्रिया दिएका हुन् ।
उनले मुम्बईमा नियमहरू कडाइका साथ लागु भएपछि यसको असर हेर्न अझै केही साता कुर्नैपर्ने प्रतिक्रिया दिएका छन् । पछिल्ला केही दिनयता मुम्बईमा सुरक्षा मापदण्ड कडा पारिएका छन् । धेरैजसो घरमा नै बस्ने गरेका छन् । यो कडाइ हटाएर खुकुलो हुने बित्तिकै सङ्क्रमण फेरि बढ्ने सम्भावना पनि उनले देखेका छन् ।




