१६ माघ , काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवम् संविधानको रक्षार्थ खटिने प्रहरी कर्मचारीले प्रतिकुल अवस्थामा समेत पेशागत मर्यादा लाई मध्यनजर गरी सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएका छन । जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा मुख्य कार्यलय भवन, प्रहरी कर्मचारी व्यारेक, प्रहरी मेश र हिरासत गरि छुट्टाछुट्टै ६ ओटा सुविधायुक्त पक्कि भवनको आज उद्घाटन गर्दै उहाँले प्रतिकुल अवस्थालाई अनुकुल बनाउनकै लागी प्रहरी दिनरात खटिनु पर्ने वताउनु भएको हो ।

साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उहाँले समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई वलियो वनाउनु पर्नेमा जोड दिनुभयो । आफ्नो इमान्दारीता र जिम्मेवारीका लागि सवैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिनुभएको छ ।

गोरखा प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले चुस्त र दुरुस्त सेवा प्रवाह गर्न भौतिक संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रहरी संगठनका उद्देश्य र तालुक प्रहरी कार्यलयका निर्देशनहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।
नेपाल सरकारको ९ करोड २५ लाख १ सय ९५ रुपैयाको लागतमा निर्माण भएका उक्त भवनहरुमा मुख्य कार्यालय, प्रहरी मेश, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारी व्यारेक, हिरासत कक्ष गरी जम्मा ६ ओटा पक्की भवन निर्माण गरीएको प्राविधिक प्रहरी नायव उपरिक्षक केविनजंग थापाले जानकारी दिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।



