१७ माघ ,काठमाडौं । सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् ।
कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाइ गर्न ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने अबििअभलतभच२ाभद।नयख।लउ इमेलको पनि व्यवस्था गरिएको छ । नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैंले सो कल सेन्टर स्थापना गर्नु परेको मन्त्री श्रेष्ठले बताए ।
उनले कल सेन्टरमा गुनासो आउनेवित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए । मन्त्री श्रेष्ठले करिब एक महिनायता भिजिट भिसामा गएकालाई बिचौलियाहरुले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न पनि सो सेन्टरको आवश्यक्ता महसुुस गरिएको स्पष्ट पारे ।
‘नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेको कल सेन्टरबाट त्यहाँ आउने गुनासो र त्यहाँ आउने कलहरुमा अलि प्रभावकारिता नभएको होकि भन्ने हाम्रो मन्त्रालयको सचिवज्यू, मलगायतको टिम लागेपछि यो कल सेन्टर मन्त्रालय प्राङगणमै स्थापना गरिएको हो । त्यस अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरुबाट ठगी गरिएको असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि बिचौलियाहरुलाई अपिल गरे । उनले त्यस काममा सहयोगी भूमिका निर्वाह गर्न सञ्चार माध्यामहरुलाई पनि पटकपटक आग्रह गरे ।६ जना कर्मचारीहरुले सो कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले बैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे । उनले सो कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनीकरण गर्दै लैजाने विश्वास समेत व्यक्त गरे । कल सेन्टरमा वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।








