२४ माघ , काठमाडौं । चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको हो।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए। बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो। ५ जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८:३० मा खबर भएको थियो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय र विपद व्यवस्थापन महाशाखा सामाखुसी बाट प्रहरी निरीक्षक डबल बहादुर बमको कमान्डमा ३७ जना प्रहरी टोलीले हिउँ खेल्न जाँदा हराएकाहरूको खोजी गरेको थियो।
महादेवस्थानकी २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।


पाँच घन्टा खोजेपछि उनीहरूलाई चन्द्रागिरि जंगलबाट राति १:१५ बजे फेला पारिएको प्रहरीले जनाएको छ। उनीहरूलाई सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।






