१ फागुन, काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्रका साथ आएको निष्कर्ष निकाल्दै एमालेले प्रतिवाद गर्ने निर्णय गरेको हो ।
बैठकपछि महासचिव शंकर पोखरेलले सोमबार बस्ने संसदीय दलको बैठकमार्फत थप निर्णय गरिने बताए । बैठकले सभामुख अग्नि सापकोटाले संसदमा सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको ठहर पनि गरेको छ । उनलाई मार्गप्रशस्त गर्न वा गल्ती सच्याउन पनि एमालेले विकल्प दिएको छ ।


