२ चैत्र , काठमाडौ । होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ ।
महानगरीय ट्राफिक महाशाखाले होली पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा १३ सय ट्राफिक प्रहरी परिचालन गरिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशीले बताएका छन ।
राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ ।
६८ स्थानमा चेकिङ प्वाइन्ट र मोबाइल भ्यानले गस्ती तथा मोबाइल चेकिङ गरिने छ । उनले भने, ‘मुख्यतयः उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमितबाहेक थप ट्राफिक प्रहरीहरू तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ।’
ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) उमेश राज जोशीका अनुसार मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले भने, “मुख्यतय: उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरीहरू तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरीहरू गरि १३ सय ट्राफिक प्रहरी परिचालन गरिनेछ ।”
हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाई गरी सवारी साधन नचलाउनको लागि महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।


