२७ वैशाख, काठमाडौं । मतदातालाई प्रलोभनमा पार्नका लागि वितरण गर्न राखिएका साडीलाई प्रहरीले सोमबार बरामद गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
स्थानीय सुरेश यादवको घरबाट बरामद भएको साडी ७३ पिस रहेको शाहीले बताए । ‘चुनावमा बाँड्न हो वा के हो ? त्यसबारे अनुसन्धान हुँदैछ । अहिले साडी बरामद गरेर ल्याएका छौँ’, शाहीले भने ।
२७ गते रातिबाट मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै मतदातालाई बाँडनका लागि साडी तयारी अवस्थामा राखिएको बताइएको छ । बरामद साडी नेकपा एमालेका उमेदवारले बाँड्न ल्याएको आरोप छ । तर, एमालेबाट सुनवल नगरपालिकाको प्रमुख पदका उमेदवार विमला अर्यालले भने त्यसलाई अस्वीकार गरेकी छन् ।
‘प्रचारमा हिँडेका कार्यकर्तालाई खाना खुवाउन त सकिएको छैन । आ–आफ्ना खर्चमा कार्यकर्ता हिँडेका छन् । कहाँको साडी ल्याएर बाँड्नु ? हामीले कसैलाई केही बाँड्दैनौ । त्यसबारे मलाई केही जानकारी छैन’, अर्यालले भनिन् ।
अहिले जिल्लाका सबैजसो प्रतिस्पर्धी उमेदवारहरुले मतदाताहरुलाई प्रलोभनमा पार्न विभिन्न सामाग्रीहरु दिन सुरु गरेका छन् । ४/५ दिनअघिदेखि नै नगदसहित मासु र रक्सीसमेत मतदाताहरुलाई बाँड्न कार्यकर्ताहरुको घर-घरमा पुर्याइएको बताइएको छ ।



