१० जेठ , काठमाडौं । गृहमन्त्रालयले पाँच एआईजीका लागि पाँच डीआईजीलाई सिफारिस गरेसँगै २० डीआईजी पदका लागि ३० प्रतिस्पर्धीहरुको दौडधुप सुरु भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सुरु भएसँगै प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवामा पनि दौडधुप सुरु भएको हो ।
हाल विश्वराज पोखरेल, सहकुलबहादुर थापा, रविन्द्र धानुक मात्रै एआईजी रहेका छन् । गत जेठ ६ गते बढुवा भएका एआईजी वसन्त लामा ७ गते नै उमेर हदका कारण अवकाशमा गइसकेका छन् । बाँकी रहेको पाँच दरबन्दीमा डीआईजीहरू उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंहलाई बढुवा लागि सिफारिस गरिसकेको छ ।
धीरजप्रताप सिंहलाई आईजीपीमा नियुक्ति गरिसकेका कारण पोखरेलको पनि पद रिक्त वा यथावत भन्ने यकिन छैन । हाल बढुवाको सिफारिसमा परेका एआईजी र वर्तमान आईजीपी सिंह २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । ३० वर्षे सेवा अवधि कायम रहेको खण्डमा उनीहरू सबै अबको ११ महिनापछि घर जानेछन् । त्यसपछि अहिले डीआईजी हुनेहरू नै आईजीपीको दावेदार रहनेछन् ।
अहिले रिक्त हुने २० जना डीआईजीका लागि ३० जना एसएसपी प्रतिस्पर्धामा छन् । उनीहरू तीन चरणमा बढुवा भएका हुन् । नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसाउद आलम खाँ एआईजी सहकुल थापासँगै प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । मसाउद आलम २०६९ माघ ११ गते तथा अरु दुई जना नलप्रसाद र मोहनकुमार २०७० साउन ४ गते एसएसपीमा बढुवा भएका हुन् । उनीहरू २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
त्यसपछि २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएका दाबेदार हुन् । यो ब्याचबाट एकजना आईजीपी पनि हुने सम्भावना छ । वैशाख १९ गते आईजीपीको अवकाशपछि यो ब्याचबाट एकजनाले प्रहरीको नेतृत्व गर्ने सम्भावना छ । तर एकसाथ तीन चरणमा भर्ना भएका र तीन चरणमै एसएसपी बढुवा भएका पनि डीआईजी हुने सम्भावना रहेकाले यो ब्याचकै आईजीपी नियुक्त हुने निश्चित भने छैन ।


