Comments Add Comment

Advertisment

SKIP THIS

चौरजहारीका पहिलो पाइलट एक वर्षमै नेपाली आकाशमा अस्ताए , गाउँ यतिबेला शोकमा

१६ जेठ , काठमाडौं । आइतबार बिहान मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजमा रहेका १४ जनाको शव फेला परेको छ। बाँकीको खोजी कार्य जारी छ।

यो खबरले रूकुम पश्चिमको चौरजहारी नगरपालिका-३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ।

मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेल अब फर्केर आउने छैनन् भन्ने सुनेर लापुते गाउँ शोकमा परेको हो।

उत्सव चौरजहारीले पाएका पहिलो र एक मात्र पाइलट हुन्।

गत वर्ष वैशाखमा तारा एयरमा आवद्ध भएका उनले फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेका थिए। दुर्भाग्य उत्सवले एक वर्षमात्रै नेपाली आकाशमा उडान भर्न पाए।

उत्सवका ठूला बुवाका छोरा दिवश पोखरेलका अनुसार उत्सवले कक्षा १० सम्मको पढाइ चौरजहारीकै भ्याली पब्लिक स्कुलबाट पूरा गरेका थिए।

त्यसपछि काठमाडौंको भिएस निकेतनबाट प्लस टु गरेर पाइलट पढ्न फिलिपिन्स गए। फिलिपिन्समा पाइलट कोर्स पूरा गरेर उत्सव एक वर्षअघि स्वदेश फर्किएर तारा एयरको फर्स्ट अफिसर पाइलटका रूपमा काम सुरू गरेका थिए।

उत्सवका दाजु उमेश पनि हाल फिलिपिन्समा पाइलटको तालिम लिइरहेका छन्। बुवा मनिराम पोखरेल जाजरकोटको नलगाड नगरपालिकामा शिक्षा स्रोत व्यक्तिको रूपमा कार्यरत छन्। आमा उषा, दाङ तुलसीपुरको बिजौरीस्थित एक विद्यालयमा पढाउँछिन्। उनको माइती बिजौरी नै हो।

छोराहरूको सजिलोको लागि उनीहरूले दाङको बिजौरीमै घर बनाइरहेका थिए। उनीहरूको एउटा घर नेपालगञ्जको गणेशपुरमा पनि छ।

छोरा उत्सवले उडाएको जहाज सम्पर्कविहीन भएको खबर पाएपछि आमा उषा दाङबाट र बुवा मनिराम जाजरकोटबाट नेपालगञ्ज हुँदै आइतबार राति नै काठमाडौं पुगेका छन्। पोखरेल दम्पतीका दुई छोरा मात्रै हुन्। दुबै अविवाहित छन्।

दिवश पनि प्रायः नेपालगञ्जमै बस्ने हुँदा उत्सवसँग भेट भइरहन्थ्यो। नभए सामाजिक सञ्जालमा उनीहरू गफिन्थे।

‘बुढो भइस् त केटा बिहे कहिले गर्छस् भनेर जिस्किन्थें,’ दिवसले भने, ‘ऊ दाइकै बिहे भएको छैन, उहाँको पालो त मिच्नु भएन नि भन्थ्यो।’

पोखराको उडान सकेपछि उनले नेपालगन्ज आउने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै