१९ असार , काठमाडौं । घरको चरम गरीबीका कारण स्कुल पढ्न छाडेर धन कमाउन भनी भारतमा नोकरी गर्न हिँडेका प्युठान, झिमु्रम गाउँपालिका–१, सौतामारेका १७ वर्षीय विमल सुनार सडक दुर्घटनामा परि यति बेला अस्पतालको शैय्यामा जीवन मरणको दोसाँधमा छन् ।यहिँ असार ६ गते भारतको हरियाणमा मोटरसाईकल दुर्घटनामा परी सुनार सडक नजिकैको रुखमा ठोक्किदा गम्भीर घाईते भए। हरियाणास्थित चुडामणि मल्टीस्पेसलिटी अस्पतालमा भर्ना गरिएका उनको उपचारमा खर्च अभाव भएपछि घरपरिवार र आफन्तजनले उनको जीवनको दुहाई माग्दै सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।
दाहिने खुट्टा भाँचिएर अप्रेशन गर्नु पर्ने छ । तर रकम अभावका कारण बेलैमा अप्रेसन नहुँदा उनको खुट्टा पाकेर बेहाल भएको छ । सँगसँगै खुट्टा सुक्दै पनि गएको छ । खुट्टा अप्रेसनका लागि त्यस अस्पतालले ३ लाख ५० हजार (भारतीय रुपैयाँ) खर्च लाग्ने बताएको छ। तीन लाख ५० हजार भारु अर्थात् उपचारका लागि झण्डै ५ लाख ६० हजार रुपैयाँ चाहिन्छ ।
त्यहाँ रहेका सँगै काम गर्ने साथी र उनका मामा पर्ने अर्घाखाँचीका राजकुमार सुनारको आर्थिक अवस्था पनि उस्तै कम्जोर भएका कारण उनीहरुले अस्पताल भर्ना मात्रै गर्न सके तर अप्रेसन खर्च जुटाउन नसक्दा उनीहरुले पनि त्यहिँबाट सामाजिक सञ्चालमार्फत् सबैसँग विमलको जिवन रक्षाका लागि सहयोगको अपिल गरिरहेका छन् ।यता घरमा ४५ वर्षीय विमलकी आमा जमुना सुनारका सोही उमेरका श्रीमान बाबुराम सुनार पनि गत एक वर्षदेखि घरबाटा बेपत्ता छन्। घरमा वृद्धा अवस्थाकी सासु आमा । घरमै त्यस्तो अवस्था रहेको बेला उताबाट छोराको उपचारका लागि पैसा अभाव भई ठूलो विपद परेको कुरा सुनाउँदा यता आमा जमुना सुनार छोरा प्रति विलौना गर्दै रुँनु शिवाय अरु केहिँ विकल्प छैन। भारतमै रहेका आफन्तहरुलाई फोन गरिन्, यता गाउँमा पनि ऋण खोज्ने प्रयास गरिन् तर के नै सम्पत्ति थियो र उनको साहुले ऋण पत्याउनु ।
त्यसलै भारतको अस्पतालमा जीवनको दुहाई मागिरहेका छोरालाई बचाउन यति बेला उनै जमुना सबैसँग सहयोगको अपिल गर्दै हिँडिरहेकी छन् । जमुनासँग केहि घर–खेतबारी छ तर पूरै बेचे पनि छोरा विमलको उपचारका लागि खर्चले पुग्दैन ।विमलका बाबु बाबुराम सुनार गत वर्ष आफ्ना बाबुको मृत्यु भएपश्चात घरबाट बेपत्ता भएका छन् । दुई सन्तानमध्ये छोरीको विवाह भई सकेको छ । बाबु बेपत्ता भएपछि घर चलाउने उपाय निकाल्न स्थानीय अमरसिंह मा.वि.मा कक्षा ७ मा पढ्दै गरेका एक मात्र छोरा विमललाई आमाले गत भदौ महिनामा भारतमा पठाएकी थिइन्। विमलको जिवन रक्षाका लागि भारतमै रहेका मामा राजकुमार सुनारको मोबाईल नम्बर १४२४९१९८९६५९१८८२ वा यता घरको नम्वर ९७६५५०२८९७ मा सम्पर्क गरि सहयोग गर्न सकिने अपिल परिएको छ ।



