ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयबासीले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन्। यसाे भईरहदा काठमाडौंका मेयर बालेन्द्र शाहले बाटाेकाे अवस्था भने के कस्ताे छ भनी नहेर्दा जनतालाई ठुलाे बर्झपात परेकाे देखिन्छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो।
समितिका संयोजक श्रीराम ढुंगाना र उप-संयोजक सनत उप्रेतीले ८ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उक्त घोषणाबारे जानकारी दिएका हुन्।
ल्याण्डफिल साइट सरोकार समितिका संयोजक ढुंगानाका अनुसार बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाइएको थियो।
विगतमा भएका सहमति कार्यान्वयनको पक्षमा लाग्ने मन्त्री चौधरीले बताएका थिए। संवेदनशील क्षेत्रमा बसोबास गरिरहेको बस्तीका मानिसहरुलाई चाँडोभन्दा चाँडो नसारे सधैँका लागि फोहोर लान नदिने चेतावनी समितिले दिएको छ।
प्रभावित क्षेत्रको विषयमा सहमति गर्ने, प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने राजनीतिक दल, काठमाडौं महानगरपालिका र सरकारलाई नरसंहार गर्न लागेको समितिको आरोप छ ।स्थानीय संघर्ष समितिका संयोजक ढुंगानाले भने – ‘पटक–पटक भएको सहमति उल्लंघन गर्ने सरकारविरुद्ध संघर्षमा उत्रिएका छौं ।’
संयोजक ढुंगानाले कामपाले सिसडोल, बन्चरेडाँडा क्षेत्रमा उपत्यकाको हानिकारक फोहोरमैला अस्तव्यस्त ढंगले थुपारेका कारणले त्यसबाट उत्पन्न भएको दूषित प्राणघातक गन्ध फैलिएर मानिस बस्नै नसक्ने अवस्था रहेको बताए । एकसाता बन्द भएपछि सम्भवतः आइतबारबाट फोहोर विसर्जन गर्ने तयारी रहेको ल्यान्डफिल साइटमा फेरि फोहोर व्यवस्थापन अवरुद्ध हुनेभएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले यही ३ गतेबाट राजधानीको फोहोर घरघरमै व्यवस्थापन गर्न आग्रह गरेको थियो । कामपाले बुधबार सूचना जारी गरी आज बिहीबारबाट फोहोर लैजाने जनाएको थियो । तर, विभागले बाटो निर्माण पूरा नभएका कारण फोहोर लैजान नसक्ने जनाएको छ ।
फोहोरले पूरै राजधानी दुर्गन्धित भइरहेको अवस्थामा स्थानीयले फेरि फोहोर विसर्जन ठप्प पार्ने चेतावनी दिएपछि उपत्यकासहित १७ स्थानीय तहको फोहोर विसर्जन प्रभावित हुनेभएको छ ।







