१३ भदौ , काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले सिसडोल क्षेत्रको अनुगमन गरेका छन ।
पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु–तिनपिप्ले सडक खण्डको निरीक्षण गर्दै मन्त्री श्रेष्ठको टोलि सिसडोल क्षेत्र पुगेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई समेत अनुगमन टोलिमा हुनुहुन्थ्यो ।
त्यस क्षेत्रका नागरिकको समस्या र बाटोको अवस्थाबारे जानकारी लिदै उनीहरुले पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु–तिनपिप्ले सडक चार महिनाभित्र निर्माण सम्पन्न हुने आश्वासन दिएका छन् ।
स्थानीयले सडक कालोपत्रेको माग राख्दै बारम्बार सडक बन्द गर्दै आइरहेका थिए ।
अब फास्ट ट्रयाकबाट चार महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले दाबी गरेका छन् । सडकखण्डको अनुगमनपछि मन्त्री राईले चार महिनाभित्र काम सम्पन्न हुने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले धेरै अगाडीदेखि बिचल्लीमा परेको उक्त सडकखण्ड अब छिटै निर्माण हुने र नागरिकले पाइरहेको सास्तीको अन्त्य हुने बताए । ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने उनको भनाई छ ।
श्रेष्ठले भने, यो बाटो चाँही धेरै अगाडीदेखि बिचल्लीमा परेको अवस्था थियो, न सार्वजनिक यातायात चल्छ । बाटोमा पहिरोहरु आएको आइ हुने । यसलाई बाटो विस्तार गरेर अगाडी बढाउने भनेर योजना बनायो । तर त्यो योजनालाई चाँही व्यवस्थित रुपमा विगतको सरकारले अगाडी बढाउन सकेन । ७–८ वर्षदेखि यो चाँही अव्यवस्थित रुपमा रहन गयो । त्यसकारण यसलाई फास्ट ट्रयाकबाट गर्नपर्छ भनेर हामीले चाँही सुरुदेखि नै भन्यौँ ।

यसअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडकमा काम नभएपछि आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उक्त सडकको पुरानो ठेक्का सरकारले तोडिसकेको छ । मन्त्रालयले नयाँ ठेक्काका लागि केही दिनअघि सूचना प्रकाशन गरेको छ ।
अब ठेक्का पाउने ठेकेदार कम्पनीले चार महिनाभित्र सडक निर्माणको काम सक्नुपर्ने छ । ठेक्का प्रक्रिया लगाउनुअघि मन्त्री उक्त सडकको अवलोकन गर्न आइतबार त्यहाँ पुगेका हुन् ।


