३० भाद्र , काठमाडौँ । जब जब कुनै क्षेत्रको सेलिब्रिटी गम्भीर अपराधमा आरोपी बन्छन् तब तब विशेष गरी कला क्षेत्रका सेलिब्रिटीहरु आफ्नो कच्चा धारणाले विवादमा तानिने गरेका छन्।
पल शाहको बेलामा यो क्रम बाक्लै थियो। नायिका/नायक/ चरित्र अभिनेता अनि अभिनेत्रीले शाहको चरित्र जोगाउन आफ्नो वैचारिक चरित्र नै दाउमा राखे।
पूजा शर्मा, सुदर्शन थापाजस्ता बाठाले बलात्कारको घटनामा जोडिएको पात्रलाई दर्शकको भावनासँग खेलेर फिल्मको व्यापार गरे।
क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा परेपछि पुन त्यही क्रम दोहोरिइरहेको छ। यसको प्रारम्भ गायक गायक शिव परियारले गरे अति विवादित धारणा लेखेर।
आलोचना बढेपछि उनले सञ्जालमा लेखेका विचार हटाए। तर त्यो बिचमा नाबालिग बलात्कार जस्तो गम्भीर अपराधबारे उनको सोच कति कच्चा रहेछ भन्ने प्रमाण स्क्रिनसटको रूपमा घुमिरह्यो सञ्जालमै।
पल शाहको बेलामा पनि बलात्कारबारे कच्चा धारणा राखेका थिए सन्तोष पन्तले। उनले चेतेनन्। सन्दीपको घटनाबारे थप विवादित र आपत्तिजनक धारणा राखे’ पल र सन्दीप दुवै घटना बार्गेनिङ गर्न गराएको भन्दै।
उनले बलात्कार भएको भए होटेलको कर्मचारीलाई किन नभनेको भन्दै उल्टै पीडितलाई थप पीडित बनाउने धारणा राखेका थिए।
अहिले यही सूचिमा थपिए गायक प्रमोद खरेल। उनको धारणा शिव परियार अनि सन्तोष पन्तझैँ पीडितलाई आरोप लगाएका छैनन्। तर पक्राउ आदेश जारी भएपछि पनि नेपाल बाहिर लुकेका सन्दीपको पक्षमा देखियो।
उनले ‘देशको झन्डा छातीमा बोकेको मान्छेलाई हो-हल्ला नगरी आवश्यक कानुनी प्रक्रियामा जाँदा कसको के बिग्रन्छ र’ लेखेका छन्।

सन्दीपबारे भइरहेको बहसप्रति असहमत र सन्दीपप्रति सहानुभूति राखेको धारणा सञ्जालमा राखे लगत्तै आरोपीको समर्थन गरेको भन्दै उनी आलोचनाको घेरामा परेका छन्।
परियारले जस्तै उनले पनि विवादपछि ट्विट डिलेट गरे। तर स्क्रिनसट त घुमिराछ सञ्जालमा आलोचना बोकेर।


