१६ कार्तिक , काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ७.३२ अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक मंगलबारको तुलनामा यस दिन ०.३८ प्रतिशतले वृद्धि भएर १९३८.३० विन्दु कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि बुधबार ०.२१ प्रतिशतले वृद्धि भएर ३८२.९४ विन्दु कायम भएको छ । यस दिन २२७ धितोपत्रका ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.७४ प्रतिशतले वृद्धि भई २८८.५० रुपैयाँ कायम भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.११ प्रतिशत वृद्धि भई २४० रुपैयाँ कायम भएको छ । सर्वाधिक रकमको सेयर खदिर–बिक्री शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको सात करोड ८५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नबिल बैंकको पाँच करोड ६६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक १.२३ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि ‘अन्य’ समूहको १.४४ प्रतिशत भएको छ ।


