नेपाल प्रहरी शिक्षालय भरतपुरमा मिति २०७८ पौष ०१ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिम २-४ समूहको आज मिति २०७९ कार्तिक २२ गते शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । 
समारोहमा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षकले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरू लगायत उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरण गर्नुभई दीक्षान्त निर्देशनको क्रममा दीक्षित प्रशिक्षार्थीहरूले गरिमामय समारोह समक्ष लिएको सपथले मन, वचन र कर्मले आफ्नो जिम्मेवारीको पालना गर्न उत्प्रेरित हुनुका साथै आफ्नो कर्तव्य प्रति जवाफदेही बन्न अनुबन्धित समेत भएको कुरामा पूर्ण विश्वस्त रहेको साथै कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्र कानूनी शासन स्थापना हुन सक्ने भएकाले कानून कार्यान्वयन गर्ने क्रममा मानव अधिकारको संरक्षण गर्न संवेदनशील हुन यस आधारभूत तालिमले ज्ञान र सीप प्रदान गरेको कुरामा विश्वस्त रहनुभएको कुरा उल्लेख गर्नुभएको थियो । 
सम्बोधनकै क्रममा प्रमुख अतिथीले नव दीक्षित संगठनका सदस्यहरूले संगठनको गौरवमय परम्परा, आदर्श र गरिमालाई बुझेर यसलाई उच्च राख्नमा योगदान दिनेमासमेत विश्वस्त रहेको साथै प्रहरी संगठनको नीति र आवश्यकता अनुसार संचालित तालिमको माध्यमबाट आफ्नो पदमा रही निर्वाह गर्नुपर्ने भूमिका र कार्य सम्पादनका लागि आवश्यक ज्ञान, सीप, कौशल र धारणामा सकारात्मक परिवर्तन तथा विकास भएको र कार्यक्षेत्रमा राष्ट्रले माग गरेको योगदान दिन सक्षम हुनेछन् भन्ने समेत विश्वस्त रहेको बताउनुभएको थियो । व्यावसायिक जिवनमा सामना गर्नुपर्ने विषयहरू निकै संवेदनशील एवं जटिल रहेको तर्फ इंगित गर्नुहुँदै प्रमुख अतिथिले त्यस्ता चुनौतीहरूलाई ईमान्दारिता,निष्पक्षता र व्यावसायिक भएर सामना गर्न निर्देशन दिनुभएको थियो भने आफ्ना सन्ततिहरूलाई नेपाल प्रहरी मार्फत जनताको सेवामा समर्पित हुन मार्ग दर्शन तथा प्रेरणा प्रदान गर्नुहुने अभिभावकहरु प्रति हार्दिक आभार समेत व्यक्त गर्नुभएको थियो । 
समारोहमा तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी निरीक्षक मनिष श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने प्रहरी शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

कुल ८७ जना प्रशिक्षार्थीहरू दीक्षित प्रहरी जवान आधारभूत तालिम २-३ समूहमा सर्वप्रथम प्रहरी जवान सन्दिप भट्ट, सर्वद्वितीय तथा शारीरिक व्यायाम प्रथम प्रहरी जवान टोप बहादुर साउद, सर्वतृतीय तथा प्रहरी युक्ति तथा कारवाही प्रथम प्रहरी जवान राजिन्द्र कुमार रावल, अध्ययन प्रथम प्रहरी जवान धिरज मेहता, कवाज प्रथम प्रहरी जवान रूपेश श्रेष्ठ र चाँदमारी प्रथम प्रहरी जवान दिनेश महतरा भएका छन् ।

दीक्षान्त समारोहमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनकी परीक्षा नियन्त्रक प्रा.डा.सुनिला राई, चितवन मेडिकल कलेज भरतपुरका एसोसियट प्रोफेसर बिनिता पौडेल अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं.३ गढिमाइ बाहिनी मुख्यालय,मकवानपुरका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मण बहादुर सिंह,भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. कृष्ण पौडेल,काली बहादुर गण भरतपुरका प्रमुख सेनानी अच्यूत घिमिरे, जिल्ला स्थित सरकारी कार्यालयका प्रमूखहरु,जिल्ला सुरक्षा समितिका सदस्यहरु, पत्रकारहरु, सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीज्यूहरू, दीक्षित भई जाने प्रशिक्षार्थीहरूको अभिभावकज्यूहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।



