२० मंसिर , काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन फिफाका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ ।
दीपिकाले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।
इतिहासमै पहिलो पटक कुनै अभिनेत्रीले यस्तो सम्मान पाएकी हुन् । दीपिकाको चर्चा भारतमा मात्र नभई अन्य देशमा पनि हुने गरेको छ । दीपिकाले हलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् । अब दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलका लागि कतार पुग्नेछिन् । यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्नेछिन् ।
यद्यपी यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । तर मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम लगभग तय भइसकेको छ । दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नेछिन् । हालै फिफाको प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गरेकी थिइन् ।







