रुपन्देही । रुपन्देही जिल्लाको सैनामैनामा मंगलबार राति भएको हत्याकाण्ड निकै यातनापूर्ण भएको रहस्य खुलेको छ ।
एक युवकको हत्या गरी लुकिछिपी बसेका तीन जनालाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका एसपी भरत बिकले बताए ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका–२ बस्ने शिशिर थारु, अर्घाखाँची घर भई सैनामैना–२ बस्ने ध्रुव बिसी, नवलपरासी बर्दघाट घर भई सैनामैना बावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेरबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।

एसपी भरत बि.कका अनुसार गत मंगलबार तराईमा होली मनाइएका कारण सैनामैनामा पनि युवाहरु होली खेलिरहेका थिए । दुई जना युवा सैनामैनामा सोरौलीमा जारी मेलामा घुमफिर गरेर साँझपख उत्तरतर्फ लाग्छन् । उनीहरु सैनामैना–२, उछडिहवामा रहेको कोसेली रेण्टुरेन्ट पुग्छन् ।
ती युवाभन्दा अगाडिनै होटल पुगेका दुई जना र मेलाबाट गएका दुई जना गरी चार जना मिलेर मदिरा सेवन गर्छन् । मदिराले लठ्ठिएका ४ युवाबिच आपसमा विवाद चल्छ, विवाद बढ्दै जाँदा हत्यासम्मको योजना बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको एसपीले बताएका छन् ।

ती मृतकसँग नगद भएको र उक्त नगद लुट्ने योजनामा हत्या भएको पाइएको हो । होटलमा केही विवाद भएपछि ३ जना मिलेर हत्या गर्ने उद्देश्यसहित माथि एकान्तमा लगेर कुटपिट गरी ढुङ्गा र बोतलले टाउकोमा हानेर हत्या गरेको एसपी भने ।
बुधबार बिहान स्थानीयले खेतमा शव देखेपछि इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) लाई खबर गरेका थिए । खबरपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले मृतकको टाउकामा धेरै चोट लागेको र रगत समेत धेरै देखिएपछि हत्या हुन सक्ने भन्दै घटनास्थलमा कुकुर समेत परिचालन गरेर अनुसन्धान गरेको थियो ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत रूपन्देहीले ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।







