काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) पाेषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । डिआईजी पोखरेललाई प्रहरी प्रधान कार्यालयबाट उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी सहित पठाइएको हो ।
ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण कार्य हुने भएकाले ट्राफिकको कार्यालयमा उत्कृष्ट प्रहरी अधिकारीलाई ल्याउने गरिन्छ । चुनौतिपूर्ण मानिने ट्राफिकमा गृह-मन्त्रालयले डिआईजी पोखरेललाई बिश्वास सहित जिम्मेवारी प्रदान गरिएको अनुमान गरिएको छ ।

डिआईजी पोखरेलले उपत्यका ट्राफिक प्रमुखको जिम्मेवारी सम्हाल्दै अब ट्राफिक System लाई प्रविधिमा विकास गर्दै लगिने र उपत्यकाको सडकमा रात दिन घाम पानी नभनि निलो पोशाक र सेतो टोपी लगाएर डिउटी गरिरहेको ट्राफिक प्रहरीको ७७ वटै जिल्लाको नागरिकहरूको निग्रानीमा रहने भएकाले उसको बोली,बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
उनले उपत्यकाको ट्राफिक जाम कम गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । ट्राफिक जाम कम गर्न आफूले व्यवस्थित पार्किङ स्थलमा जोड दिएको उनको भनाइ छ । “उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलको समस्या समाधान हुनुपर्छ । यसका लागि काठमाडौंका मेयरसँग सल्लाह हुँदै छ,” उनले भने ।

सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर ‘हात हल्लाउने र सिटी फुक्ने’ परम्परागत व्यवस्था विस्थापित गर्न सवारी चाप हेरी बत्ती बाल्ने इन्टेलिजेन्स ट्राफिक बत्ती, भ्यु हेर्न मिल्ने सीसीटीभी, गति डिटेक्टर प्रविधि र रडार गनको विस्तारलाई प्राथमिकतामा राखेका छन् ।
“सार्वजनिक यातायात क्षेत्रमा यात्रुहरू ठगिने, दुर्व्यवहार हुनेजस्ता समस्याहरू समाधान गर्न सकिन्छ । विभिन्न निकायको समन्वयमा काम गर्दै जाने हो,” उनले भने । उपत्यकामा पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन, सडकमा लेन अनुशासन, हर्न निषेधलाई थप कडाइ र सीसीटीभी निगरानी गर्ने पोखरेलको योजना छ ।








