काठमाडौंको नागढुंगामा गरिएको ट्राफिक चेकिङका क्रममा लागूपदार्थ सेवन गरी माइक्रो चलाउने २ जनासहित ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा७८प ९२६ नम्बरको मोटरसाइकल चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने २५ वर्षीय सशांक मुडवरी, बागमती प्रदेश ०२ ०३४ प ३८ ४५ नम्बरको मोटरसाइकल चालक बाराका २५ वर्षीय निकेश श्रेष्ठ, बा३ख ४२ नम्बरको माइक्रो चालक धादिङको सिद्धलेख गाउँपालिका ७ का ३१ वर्षीय भगवान गिरी, ग२ख १२८७ नम्बरको माइक्रो चालक स्याङजाका ३१ वर्षीय सन्तोष विक, बा११च २२०० नम्बरको कार चालक रामेछापको खाडादेबी गाउँपालिका बस्ने २१ वर्षीय अन्नबहादुर चौहान र ग१क ५२ ५१ नम्बरको कन्टेनर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ का ३२ वर्षीय रामचन्द्र प्रजालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले शुक्रवार २० वटा सवारीसाधन चेक गर्दा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ६ जना चालक फेला पारेको थियो ।
लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउनु निन्दनीय कार्य भएको र यसरी सवारीसाधन चलाउँदा चालक लगायत यात्रुको जीवन समेत जोखिममा पर्ने भएकाले नशालु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।






