काठमाडौं: क्याफेमा मासु ल्याउने व्यक्तीको मृत्यु भएपछि चर्चित र्यापर गिरिश खतिवडामाथि हत्या आरोप लागेको छ । खतिवडाले विराटनगर १० मा सञ्चालन गरेको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा मासु पुर्याउन आएका व्यक्तीको मृत्यु भएपछि हत्या आरोप लागेको हो ।
मृतकका आफन्तले खतिवडासहित तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तब्य ज्यानको दाबीसहित किटानी जाहेरी दिएका छन् ।
खतिवडा जि क्याफे सञ्चालन हुन् । उनको पसलमा मासु ल्याउने मोरङको धनपालथान गाउँपालिका ४ कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालक कासीद अन्सारीको मृत्यु भएपछि खतिवडासहित तीन जना विरुद्ध कर्तब्य ज्यानको दाबीसहित जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
दाहालका अनुसार अन्सारीले क्याफेमा मासु बेच्ने गरेका थिए । गत असार ३ गते बिहान खतिवडाको क्याफेमा उनले मासु लिएर आएका थिए । तर एक्कासी उनी गम्भीर घाइते भए । होटलमा घाइते भएका उपचारका लागि कोशी अस्पताल हुँदै विराटनगर नर्सिङहोम लगिएको थियो ।
नर्सिङहोममा सोही दिन बेलुका उनको मृत्यु भएको थियो । आफन्तले पसल सञ्चालक र कामदारले कुटपिट गरी हत्या गरेको दाबी गरे । मासु दिए बापतको ४० हजार रुपैयाँ लिन बाँकी हुँदा कुटपिट गरी हत्या गरेको आफन्तकाे दाबी छ ।
मृतकका भाइ मासिद अन्सारीले मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको आरोपसहित जाहेरी दिएका हुन् । विराटनगर महानगरपालिका ८ का खतिवडासँगै क्याफेमा काम गर्ने जहादा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतविरुद्ध जाहेरी परेको प्रहरीले बताएको छ ।


