१३ पुष , काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बहुमुल्य मुगा मालाहरु चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
कार्यालयबाट खटिएको विशेष टोलीले काठमाडौंको कोटेश्वर बालकुमारी स्थित देवी कृष्ण चौलागाईको डेरा कोठामा कोही नभएको समयमा कोठाको पछाडी पट्टीको भर्याङ बाट भित्र प्रवेश गरी बहुमुल्य मुगाका मालाहरु, सुनको सिक्री २ तोला समेत गरी जम्मा अन्दाजी रू २४,८४,०००।– ९अक्षरुपी चौबिस लाख चौरासी हजार० बराबरको धनमाल चोरी गरी लगेको घटना अनुसन्धानको क्रममा उक्त चोरी कार्यमा संलग्न रहेका ५ जनालाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका आकाश थोकर तामाङ, झापा अर्जुनधाराका खेमप्रसाद न्यौपाने, सिन्धुपाल्चोक सुकोशीका राजकुमार थापा भनिने लवन थापा, नुवाकोट पञ्चकन्याका रामबहादुर तामाङ र उदयपुर डुम्रेका कपिल तामाङलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट २४ थान मुगा माला र ६ थान मोबाइल समेत बरामद गरिएको कार्यालयले जनाएको छ । उनीहरुलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक ९एसपी० रविन्द्र रेग्मीले जनाए ।


