
१५ मंसिर ,काठमाडौ । काठमाडौं उपत्यकाबाट सन् ८० को दशकमा हराएका पुरातात्त्विक महत्त्वका सम्पदाहरू निजी संग्रहालय बरकत ग्यालरीमा भेटिएका छन् ।

अमेरिकाको लस एन्जल्स, बेलायतको लन्डन, दक्षिण कोरियाको सियोल, जोर्डनको अम्मान र हङकङमा (दुई) शाखा रहेको ग्यालरीको बिक्री सूचीमा दुई दर्जनभन्दा बढी नेपाली पुरातात्त्विक सम्पदा छन् । तीमध्ये ३ वटाको मात्रै पहिचान हुन सकेको छ ।

हराएका वा चोरिएका सम्पदाको स्थान, पहिचान तथा सूचना दिने अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले दिएको जानकारीअनुसार ओमबहालस्थित बौद्ध विहारमा रहेको सत्रौं शताब्दीको ढुंगाको मूर्ति बरकतको बेलायत शाखामा फेला परेको छ ।
यस्ता बौद्ध–विहार वा मठमन्दिर निर्माणमा सहयोग गर्ने दाताले आफ्नो कृतिको स्मरणका लागि आफ्नै प्रतीकात्मक मूर्ति बनाउन लगाउने गरेका थिए । अर्को मूर्ति भने बरकत ग्यालरीको अमेरिका शाखामा भेटिएको छ । ओटुबहालको विहारबाट चोरिएको दाताको घुँडा टेकिएको आकृतिको अर्को ढुंगा मूर्ति भने लसएन्जल्सस्थित बरकत ग्यालरीमा फेला परेको हो । यी दुवै ढुंगा मूर्तिको तस्बिर सन् १९७६ मा स्विस अन्वेषक उलरिच भोन स्क्रोडरले खिचेका थिए । ‘नेप्लिज स्टोन स्कलप्चर्स’ नाममा प्रकाशित तस्बिर पुस्तकमा दाताका यी मूर्ति संगृहीत छन्
सन् १९६५ देखि सन् २०१९ सम्मका शिलामूर्तिका तस्बिर संकलन गर्ने स्क्रोडरले यस पुस्तकको पहिलो भागमा हिन्दु देवदेवी तथा मठमन्दिरमा रहेका मूर्ति र दोस्रो भागमा बौद्ध गुम्बा–विहारमा रहेका मूर्ति समेटेका छन् ।
यस्तै, बेलायतको बरकत ग्यालरीमै वसन्तपुरको कुमारी–छें (कुमारी घर) बाट चोरिएको दुर्गादेवीको आकृति कुँदिएको काठको तोरण फेला परेको छ । सन् ८० को दशकमा हराएको यो सम्पदा चोरिएपछि ५ वर्षअघि मात्रै नयाँ तोरण प्रतिस्थापन गरिएको थियो । अहिले पहिचान भएकामध्ये सबैभन्दा बढी महत्व र धार्मिक सरोकारमा जोडिएको सम्पदा यही कलात्मक तोरण हो ।




