काठमाडौं: चितवन प्रहरीले विभिन्न मितीहरुमा चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि मोबाइल धनीलाई हस्तान्तरण गरेको छ ।
चितवन जिल्लालगायत आसपासका सर्वसाधरणहरूले आफ्ना मोबाइल हराएको भनी निवेदन दिएसँगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र २९ थान मोबाइल फेला पारेर आइतबार धनीको जिम्मा लगाएको हो।
विभिन्न स्थानबाट सर्बसाधारणको मोबाइल हराउने तथा चोरी हुने गरेको जनगुनासोको आधारमा उक्त मोबाइल खोजतलास अभियान संचालन गरी बिभिन्न जिल्ला तथा स्थानबाट हराएका मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको चितवनका डिएसपी भेषराज रिजालले बताए ।
डिएसपी रिजालका अनुसार मोबाइल हराएको भनि प्राप्त भएका निवेदनको सम्बन्धमा खोजतलास परिपत्र गरी चितवन जिल्लासहित काठमाडौँ, पर्सा, बारा, नवलपरासी, कास्कीलगायतका जिल्लामा अन्य व्यक्तिले चलाइरहेको अवस्थामा हराएका २९ थान मोबाइलहरू फेला पारिएको थियो ।
प्रहरीले आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, पिको लगायतका १४ हजार रुपैयाँदेखि एक लाख २५ हजार रुपैयाँसम्मका मोबाइल सेट फेला पारेर फिर्ता गरेको हो । आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए ।







