Comments Add Comment

Advertisment

SKIP THIS

प्रसिद्ध धार्मिकस्थलको रुपमा बौंडेश्वर (बरुणेश्वर) महादेव मन्दिर !

४ भदौ , काठमाडौ । काठमांडौको टोखा नगरपालिका वडा नं. १ बरुणेश्वर गुफामा अवस्थित श्री बौंडेश्वर(बरुणेश्वर) महादेवको मन्दिर नेपालको एक प्रसिद्ध धार्मिकस्थल हो जुन समृद्ध साँस्कृतिक सम्पदा तथा आध्यात्मिक वातावरणमा शान्त रुपमा रहेको देख्न पाइँन्छ ।

वातावरण स्वच्छ र हराभरा रहेको उक्त स्थान काठमाडौको उत्तरी भेगमा अवस्थित छ र जहाँबाट नुवाकोटको यात्रा तय गर्न सकिन्छ । उक्त मन्दिर एक विशाल चट्टानको भित्र निकै नै अप्ठेरो स्थानमा रहेको छ । र यहाँ विशेष गरी श्रावण महिनाभरी, वर्षको प्रत्येक सोमवार तथा मंसिर महिनाको बैकुण्ठ चतुर्दशीको दिन मेला लाग्दछ ।

हाम्रो धार्मिक पुस्तक श्रीस्वास्थानीमा वर्णन गरे अनुसार दक्ष प्रजापतिले महायज्ञ लगाउँदा सवै ज्वाईहरुलाई डाक्दछन् तर जेठा ज्वाईँ सतीदेवीका पति महादेवलाई नडाकेर अप्मान भयो भनि सतीदेवीले आगोमा हामफालेर प्राण त्याग गरेपछि विरक्त भएर महादेवले सतीदेवीको अंग लिएर हिँड्दा उनको बायाँ स्तन पतन भएको उक्त ठाउँमा बौंडेश्वर महादेव उत्पती भएर शिवशक्ति स्वरुपले रहेका भन्ने किम्वन्दती पाइन्छ ।

त्यस्तै अर्को किम्वदन्ती अनुसार महादेवलाई राक्षसले लखेटेपछि एक रात उक्त ठाउँमा लुकेर बसेका र त्यसको भोलीपल्ट गोसाईकुण्डतिर लागेका भन्ने छ । उक्त ठाउँ कसैले पनि देख्न मुश्किल हुने भएको र अप्ठेरोमा रहेकोले उक्त ठाउँ अनुसार शिवको नाम पनि बौंडेश्वर रहन गएको भन्ने भनाई पनि रहेको छ ।

तथापी उक्त स्थान काठमाडौको उत्तरी भेगमा बडो शान्त, मनोरम दृश्यावलोकन, प्राकृतिक हरियाली स्वच्छ वातावरण, वरिपरि जंगलले ढाकिएको बढो रमणीयस्थलको रुपमा रहेको र हिन्दु धर्मको मान्यता अनुसार देवताका पनि देवता महादेवको मुर्ति स्थापना गरिएकोले उक्त ठाउँ प्राकृतिक, साँस्कृतिक रुपबाट मात्र नभएर धामिक स्थलको रुप्मा पनि प्रख्यात रहेको छ र जहाँ हजारौं भक्तजनहरु धेरै टाढा टाढाबाट दर्शन गर्न आउँछन् । विशेष गरी श्रावण र मंसिर महिनामा भक्तजनको भिड हुने गर्दछ ।

हाल उक्त स्थानमा गत दुई वर्षदेखि श्री बौडेश्वर संरक्षण समितिले निकै नै सुधारको काम गरेको कुरा सो समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले बताउँनु भयो । पहिला मुश्किलले गोरेटो बाटो हिँडेर गन्तब्यमा पुग्न सकिन्थ्यो भने हाल आएर मन्दिर ब्यवस्थापन समिति तथा स्थानीय जनताको सहयोगमा उक्त स्थानमा जाने सिँढी लगाइएको छ भने चिया, खाजा खाने स्थानको ब्यवस्था राम्रो छ । त्यसै गरी उक्त स्थानमा जाने पुल पनि निर्माण गरिएको छ । त्यसै गरी प्रत्येक महिनाको मशान्तको दिन भजन कृतन गरिन्छ । प्रत्येक सोमवारको दिन बेलुकी आरती गरिन्छ । भक्तजनहरुको भिड भएको समयमा उनीहरुकै सुविधाको लागि स्वयंम सेवकहरु परिचालन गरिन्छ ।

धार्मिक मान्यता अनुसार हिन्दू धर्मका प्रमूख देवताको रुपमा चिनिने महादेवका अनेक स्वरुपमध्ये बौडेश्वर स्वरुप पनि एक हो । र, हाम्रो संस्कार र मान्यता पनि धार्मिक रीतिरिवाजमा आधारित भएकोले खडेरी पर्दा, कसैको सन्तान नभएमा उक्त मन्दिरमा पूजा गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ र स्थानीयको भनाई अनसार उक्त कार्य सफल भएको पनि छ । त्यस्तै शरिरमा घाउखटिरा नआवस भनेर उक्त स्थानमा अविरल रुपमा मुस्कुराइरहेको देखिने झरनाको पानीमा लुगासहितको स्नान गर्ने चलन छ । त्यस्तै पुत्रलाभको कामना गरी भाक्कल पनि गरेको पाइन्छ ।

यसरी त्यहाँ पुग्नको लागि हाल काठमाडौको सुनधारा, भक्तपुर, ललितपुरलगाएत अन्य विभिन्न स्थानबाट टोखा बौंडेश्वर महादेवको मन्दिर नजिकै वसको यात्रा पनि सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

उक्त मन्दिर संरक्षण तथा सम्वद्र्धनको लागि बौडेश्वर संरक्षण समिति तथा स्थानीय जनताले बडो मिहिनेत र निश्वार्थ रुपमा काम गरिरहेको छ । र, गत दुई वर्षको समयमा त्यहाँ निकै नै सुधारका कामहरु भएता पनि अझ सुधारका कामहरु गर्न निकै नै बाँकि रहेको र सो क्षेत्रको विकासको लागि स्थानीय सरकार विशेष गरी टोखा र तारकेश्वर नगरपालिकाद्धारा २ करोड ६० लाख वरावरको रकम विनियोजन गरिएको र विविध कामको लागि टेण्डर प्रकृया पनि शुरु हुन लागेको कुरा सो समितिका अध्यक्षले बताउनु भयो ।

त्यसैले बौडेश्वर महादेवको मन्दिर मात्र नभएर नेपालमा यस्ता धार्मिक पवित्रस्थल धेरै छन् र जो संरक्षण र सम्वद्र्धनको पर्खाइमा रहेको पाइन्छ । तिनै मध्येमा एक पबित्र धार्मिकस्थलको रुपमाा बौंडेश्वर मन्दिर परिचिति भएको छ र विशेष पर्व तथा मेलामा देशका विभिन्न ठाउँहरुबाट भक्तजनहरुको भिड लाग्ने हुँदा सो पवित्र स्थललाई अझ बढी विविध कुराहरुमा विकास गर्नुपर्ने देखिन्छ जसले गर्दा उक्त ठाउँमा साँस्कृतिक, धार्मिक तथा आर्थिक विकासमा टेवा पुग्नुको साथै सामाजिक सद्भाव पनि रहने कुरामा कसैको दुईमत नहोला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै