११ जेठ, काठमाडौ । मानव शरीरका लागि घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको अभियोगमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न ३ वटा सेनिटाइजर उद्योग र गोदाममा छापा मारी ४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजर उत्पादक सुनसरीका आशिष प्याकुरेल, बालाजुस्थित उत्सव डिटरजेन्ट एण्ड कस्मेटिकका संचालक राकेश अग्रवाल र कमल अग्रवाल, सोह्रखुट्टेस्थित लामा समिप इन्टरप्राइजेजका संचालक सुमन बहादुर तामाङ रहेका छन् ।

प्रहरीले ठूलो परिमाणमा सेनिटाइजर समेत बरामद् गरेको बताएको छ । आरोपीहरुविरुद्ध अहिले प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन–०३२ अनुसारको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।