Comments Add Comment

गण्डकी प्रदेशको सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी सेवा बन्द

११ जेठ, पोखरा । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज)देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ ।

सङ्घीय सरकारमातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन गण्डकी प्रदेश सरकारले पनि केही दिनअघि सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ ९ गते अस्पताललाई पूर्णरूपमा कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्था गर्न भनेकाले अस्पतालमा सञ्चालनमा रहेको कोभिड–१९ ओपिडीबाहेकका अन्य ओपिडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए ।

अस्पताल प्रशासनले यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गरेको छ । पश्चिमाञ्चल अस्पतालमा कोरोनाका बिरामीको उपचारका लागि ४२ आइसोलेशन शय्या, १७ आइसीयू शय्या, सातवटा भेन्टिलेटर र १६ वटा एचडीयू शय्या रहेकामा अधिकांश प्रयोगमा आएका छन् ।

सो अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै